१० माघ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीका बुवाकाे मृत्यु भएको छ । सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा मृत्यु भएको हो ।
प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले सवारी दुर्घटनामा घाइते भएपछि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको थियो ।
उनको मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । दुर्घट्नामा केही घाइते भए पनि अस्पतालबाट डिस्चार्ज भएका अधिकारीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको हो ।
बाराको रतनपुरीस्थित जंगलको आश्रममा बस्दा बम्जनले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै किशोरीले अदालतमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि लामो समय फरार रहेका बम्जनलाई प्रहरीले पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
पुस २६ गते सिन्धुली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासलेले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी हाल महोत्तरीको जलेश्वर कारागार बन्दी जीवन बिताइरहेका छन् ।
उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएसँगै जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा दुईवटा जाहेरी दर्ता भएका छन् । बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको तथा सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको हत्या गरेको आरोपमा जाहेरी परेका हुन् ।
उक्त जाहेरी उपर पनि प्रहरीले अनुसन्धान गरिरहेका बेला जाहेरी दिने किशोरीका बुवाको दुर्घटना संयोगमात्र मान्न नसकिने उनका परिवारको आरोप छ । केही दिन अघिमात्र म्जनले गरेको यौन शोषणबारे सञ्चार माध्यममा बोलेका उनको षड्यन्त्र गरेर हत्या गरिएको उनका परिवारका सदस्यले आरोप लगाएका छन् ।








प्रतिक्रिया