२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एनसेलको शेयर बिक्री प्रकरणमा छानबिन समिति भन्छ, ‘अस्वभाविक कारोबार’



काठमाडौँ
१५ माघ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदनमा बिक्रीकर्ता पक्ष हाबी भई खरिदकर्ता पक्षमा स्वभाविकभन्दा बढी शर्तहरू राखेको, सेयर बिक्रीपश्चात वर्षौसम्म पनि विक्रेताले आफूले बिक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत बिक्रीकर्तामा नहुनेजस्ता शर्तहरू उल्लेख भएको देखिएकाले उक्त सम्झौता स्वतन्त्र ढङ्गले भएको स्वभाविक सम्झौता मान्न नसकिने उल्येख छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका थिए । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायत विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका थिए ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।