२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छः सङ्गीतकार बास्कोटा



२२ माघ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भनेका छन्।
नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भने, “उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पुर्‍याउन योगदान गर्नुभयो। त्यसैले पनि उहाँ नेपाली नयाँ पुस्ताको पनि प्रेरणा हुनुहुन्छ।”

“समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अवसर दिनुहुन्थो। हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ। सङ्गीतको वर्तमान पुस्ताले पनि उहाँबाट प्रेरणा लिइरहेको छ। मलाई लाग्छ नातिकाजी हिजोको मात्र नभएर आजको नाति पुस्तासम्म नै गीत–सङ्गीतको मुटुमा रहनुभएको छ”, अध्यक्ष बास्कोटाले भने।

नातिकाजीको स्मृतिमा स्थापित यस समाजले नेपालका स्रष्टाहरुलाई सम्मान प्रदान गर्नाका साथै उहाँको योगदानबारे विविध कार्यक्रम गर्दै आएको छ। उनको ९९औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमपछि उनले नातिकाजीले नेपालको गीत–सङ्गीतका क्षेत्रमा गरेको योगदानको स्मरण गरे।

सो अवसरमा उनले नातिकाजीको सङ्गीतबारे व्यापक अनुसन्धान गरी उनका कालजयी गीतसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिए। अध्यक्ष बास्कोटाका अनुसार नातिकाजीकै प्रयासमा रेडियो नेपालमा सङ्गीत सङ्ग्रहालय निर्माण भएको थियो।

विसं १९८२ पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, भजन, गीतिनाटक, नाटक तथा चलचित्रका गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ। उहाँले ‘नेपाली हामी रहाँैला कहाँ नेपाली नरहे’, ‘आजै र राति के देखेँ सपनीमा’, ‘फुलको थुँगा बगेर गयो गङ्गाको पानीमा’, ‘सान्ननीको गालैमा कालो कोठी रैछ’, ‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता चर्चित गीतमा सङ्गीत दिएका छन्। उनको निधन विसं २०६० कात्तिक १६ गते भएको थियो।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।