१ फागुन । ललितपुरकाे महालक्ष्मी नगरमा आयोजना हुने महालक्ष्मी महाेत्सवमा प्रमुख तीन पार्टीको भागबण्डा गरेर समाराेह आयोजना हुने भएकाे छ । महालक्ष्मी नगरका मेयर हरि गाेविन्द श्रेष्ठका अनुसार पहिलाे दिन नेकपा माओवादीका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ले उद्घाटन गर्नेछन् ।
नगरप्रमुख हरिगोबिन्द श्रेष्ठका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा नगरभित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् भने यसलाई सम्पन्न गर्न नगरसभाले ५० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ ।
महोत्सवलाई सफल पार्न नगरपालिकाले वडाअध्यक्षहरुको संयोजकत्वमा विभिन्न ९ वटा उपसमिति गठन गरेर काम गरिरहेको उनको भनाइ छ । महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी आन्तरिक रोजगारी प्रर्वद्धन गर्ने नगरपालिकाको योजना छ ।
पहिलो पटक हुन लागेको महोत्सवमा नगरभित्रका १० वटै वडाका महत्वपूर्ण स्थलहरुमा पर्यटकहरु लैजानेगरी योजनावद्ध रुपमा काम गरिरहेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् । उनकाअनुसार महालक्ष्मी नगरपालिका ऐतिहासिक, धार्मिक र पुरातात्विक नगर हो । जहाँ नेपालीका अतिरिक्त नेवारी र तामाङभाषीहरुको बाहुल्य छ ।
महोत्सवमा नेवारी र तामाङ संस्कृतिको प्रचारदेखि यहाँका धार्मिक र ऐतिहासिक स्थलसम्म पर्यटकहरु लैजाने नगरको योजना रहेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया