५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुण्डा नाइके सानुभाइ समूहका २ जना धरौटीमा छुटे



७ फागनु । गुण्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ समूहका दुई जना धरौटीमा रिहा भएका छन्। ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेर मुद्दा चलेका थाते र विश्व भनेर चिनिने बिसु तामाङ र मार्सल भनिने शैलेन्द्र तामाङ रिहा भएका हुन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको फागुन ३ गतेको इजलासले उनीहरु दुबै जनासँग धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटी बुझाएपछि उनीहरु दुबै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गका डीएसपी गोविन्द थापाले बताए ।

ठमलेस्थित छाया सेन्टरको प्लेब्वाई क्लबस्थित पार्किङमा सानुभाइ समूहले एक युवामाथि आक्रमण गरेको थियो। घटनामा संलग्न ७ जना भए पनि २ जना मात्रै पक्राउ परेका थिए। सानुभाइसहित पाँच जना फरार थिए।

छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइ समेतको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए। जाहेरी पश्चात् प्रहरी वृत्त दरबारमार्गले सानुभाइ समूहका थाते र विश्व भनेर चिनिने बिसु तामाङलाई पक्राउ गरेको थियो। त्यसको केही दिनपछि मार्सल भनिने शैलेन्द्र तामाङ पक्राउ परेका थिए।

सानुभाइसहित नुवाकोटका कमल तामाङ, शेरबहादुर पौडेल भनिने शेरलाल पौडेल, विनोद तामाङ र रघु तामाङ अहिलेसम्म फरार छन्। यी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।

प्लेब्वाई क्लबको पार्किङमा भएको आक्रमण घटनाको सीसीटीभी फुटेजसमेत भिडियो सार्वजनिक भएको थियो। जसमा सानुभाइसमेत देखिएका थिए। उनका साथै शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले छमबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

आक्रमणबाट छमबहादुरको हातको कान्छी औंला भाँचिएको थियो। दाहिने आँखामा चोट लागेको थियो। सानुभाइको समूहले धम्की दिँदै सीसी क्यामेरा कैद नगर्ने ठाउँमा लगेर फलामको नक, हेल्मेटले आक्रमण गरेको पीडितले बताएका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ४५ बजे