१८ फागुन । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा रहेको क्यासिनो प्यालेसमा अनलाइन जुवाका साथै क्रिप्टो कारोबार तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको दाबीसहित प्रहरीले मुद्दा दायर गरेको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका तीन कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा क्रिप्टो र विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा सो क्यासिनोमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको थियो । बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहलाई अनलाइन जुवामा प्रयोग गरिएका सामग्रीसहित पक्राउ गरेको थियो । बयानको क्रममा उनीहरूले सञ्चालककै निर्देशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको बताएका छन् ।
सो क्यासिनोका मुख्य सञ्चालकद्वय जनकपुरका विनयबहादुर साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ ।
अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएको हो ।
क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकहरू अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर भएको हो । फरार रहेका उनीहरू क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका सञ्चालक हुन् ।
पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफूहरूले अनलाइनमार्फत २४सै घन्टा जुवा खेलाउने गरेको बयान दिएका छन् ।
प्रतिक्रिया