काठमाडौँ
२२ फागुन । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’लगायतका चलचित्रमा काम गरिसकेको छ ।
उनी दुवैले अभिनय रहेको ‘रङ्गेली’ आउँदो यही फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ । “हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन् । सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ”, अभिनेता दयाहाङ राईले भने ।
अभिनेता राई पछिल्लो व्यस्त अभिनेतामा पर्छन् । यस वर्ष मात्र उनले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । सोही कारण पनि उनको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गर्छ । अभिनेता राई पनि यस विषयमा जानकार छन् ।
“चलचित्र रङ्गेलीमा मेरो भूमिका अघिल्लाभन्दा फरक छ । यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ”, उनले भने, “सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ ।” उनले यसमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समय पश्चात यस किसिमको भूमिका निर्वाह गरेको बताए ।
“पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भने ।
अभिनेत्री मगरले यस चलचित्रमा थारु समुदायकी युवतीको भूमिका निर्वाह गर्नुभएको छ । “मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु । किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन । “चलचित्रमा नायिकको भूमिका पनि बलियो छ”, अभिनेत्री मगरले भने ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गरेका छन् ।
२२ फाल्गुन २०८०, मंगलबार
52
Shares
प्रतिक्रिया