ललितखबर
२७ फागुन । पछिल्लो समय नेपालको सिनेमा बजारमा थरिथरिका चलचित्र प्रर्दशन भइरहेका छन् । समयसँगै दर्शकको रुचि फेरिएको छ । नाटकीय दृश्यभन्दा यतार्थरक कथामा आधारित चलचित्रले बजार पाउन सुरु भएको छ ।
हुन त नेपाली चलचित्र बजारमा हास्यचलचित्रले बजार नओगटेको होइन । तर पनि मायाँप्रेम र रोनाधोनाको कथा व्यथाभन्दा सामाजिक कथा नै चलचित्रको पर्दामा बिक्न सुरु भएको छ ।
नेपालको सिमा क्षेत्रमा हुने तस्करी गुण्डागर्दी र अपराधको विषयबस्तुमा निर्माण गरिएको चलचित्र रंगेली पछिल्लो शुक्रबारबाट प्रर्दशन सुरु भएको छ ।
डेव्यु निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रको सुरुवात नै हत्याबाट हुन्छ । विजय नाम गरेका अभिनेता दयाहाङ राई मुख्य पात्र छन् । जुनेली नाम गरेकी युवती मिरुना मगर सोझी थारु महिलाले भयंकर लडाकुको रुप धारण गरेको दृश्य चलचित्रको लागि अनौठो लाग्छ ।
गरिव भएर जन्मनु आफ्नो गल्ती नदेख्ने विजयले गरिव भएर मर्नुमा गल्ती महसुस गरेको दृश्यले दर्शकलाई धनी बन्ने सपना देख्न झकझकाउछ । रंगेली बजारमा हल्लेर हिड्ने युवा विजय (दायाहाङ)को ठूला सपनासँगै चलचित्र अघि बढ्को छ । रंगेलीमा राज गर्ने सपना देखेका विजयको रजगज चलचित्रलाई डोहो¥याएको छ । चलचित्रको सकारात्मक पक्ष तोताभाई यादव (रुपेश झा)सँगै वियज (दयाहाङ)को मित्रता चलचित्रमा बेजोड ढंगले देखाइएको छ । जुन दृश्यले दर्शकको मन छुन्छ ।
यद्यपी चलचित्रले दर्शकको दिमाग फनक्कै घुमाउछ । चलचित्रभित्र देखाइएका अपराधको दृश्य हेर्न थप साहस बटुल्न जरुरी छ । चलचित्र हेर्दा जहाँत्यही अपराधि नै अपराधि देखिन्छन् । चलचित्र मारकाट नै मारकाटले भरिएको छ । चलचित्रमा हजारौं गोलि चलाइएको छ । खुडा प्रहार गरिएको छ ।
चलचित्रको नायक भेट्नै मुस्किल पर्छ । छिन छिनमा नयाँ पात्र टुप्लुक्क आउछ । चलचित्रमा पात्र स्थापित हुन नपाउदै अर्को नयाँ पात्र आइहाल्छ । चलचित्रमा यती धेरै गुन्डागर्दी को दृश्य छन् कि दर्शकले कसलाई कसले गोली हान्यो पत्तो पाउदैनन् ।
अपराध मनोभाव बोकेको चलचित्र रंगेलीले तराईमा अपराध घटाउन होइन प्रोत्साहन गरेको छ ।
कलाकार प्रवीण खतिवडा मानबहादुर ढकालको चरित्रमा पुलिस अफिसर बनेर अभिनय गरेका छन् । हत्या र हिंसा मात्रै हेरेर मोनोटोनस अनुभव गरेका दर्शकका लागि उनको प्रवेशले रमाइलो थपिन्छ ।
चलचित्रको कमजोरी
चलचित्रमा अपराधका कथा जेरीजस्तै जेलिएको छ । केही मिनेटमै नयाँ पात्र आउछन् । गोलि हाने पनि मर्छन् । चलचित्रमा तोताभाई यादव, भगवान् भाइ यादव, मिस्री भाइ, केशरी भाइ, बिट्टु भाइ, पवन भाइ यादवलगायतका थुप्रै पात्र छन् ।
तराईको कथामा बनेको चलचित्रमा पहाडिया कलाकार छन् । उनीहरुले तराईकै भेषभुसामा देखिन्छन् । तर न बोलीको लवज फेरिएको छ न अभिनयमा श्रृजनात्मक नयाँ पन ।
मिरुना मगर नयाँ भेषभुसासँगै थरुनीको रुपमा देखिन्छन् । तर नयाँ चरित्र निर्माणमा खासै मेहनत गरेकी छैनन् । उनको चिउडोमा तीन वटा ट्याटु खोपिएको छ तर बोल्ने आवाजको लवज दुरुस्तै अरु चलचित्रको जस्तै छ । दयाहाङको पनि उस्तै हालत छ । उनी बोल्ने हिड्ने तौरतरिका उस्तै छ । अरु चलचित्रको जस्तै । तर उनी खुङ्खार गुण्डाको भुमिकामा छन् ।
चलचित्रको कथा सलल बगेको छैन । पात्रै पात्रको कथा भन्न निर्देशक सुवेदीले धेरै समय लगाएका छन् । दुई घण्टा ५५ मिनेट लामो चलचित्रको मध्यान्तरअघि नै दिक्कलाग्दो छ । गोली ठोकेको र हत्याको श्रृखला देख्दा दर्शक दिक्क मान्छन् ।
चलचित्रमा थुप्रै साना गल्ती छन् । नक्कली भारतीय रुपैयाको कारोबारको कथामा गाडीभरि नेपाली नोट देखाइएको छ । त्यो पनि ठूला ठूला आकारका नोटहरु ।
चलचित्रका सिनेमेट्रोग्राफर सुसान प्रजापतीले सुस्तरी बोलको गीतको ठाँउ ठाँउमा दृश्यहरु हल््लएर खिचेका छन् । नेताको हत्या गरेर विजय र तोतालाला भागेको बेलामा प्रहरीको गाडी आएर ब्याक भएको दृश्य दोहोरिएको छ ।
शिल्पा मास्के र विजय बरालको नृत्य चलचित्रमा आइटम डान्स छ भन्नकै लागि राखिएको भान हुन्छ ।
चलचित्रमा टपेन्द त्यागी र सिएम जस्ता प्रतिश्पर्धी नेताहरुले कसरी तस्करसँग मिलेर राजनीति गरिरहेका छन् भन्ने देखाउछ । यस्ता दृश्यले समाजमा अपराध घटाउदैन । चलचित्रले राजनीति गर्नेहरुलाई अपराध सिकाइरहेको भान हुन्छ ।
भगवानभाई यादव बनेका अर्पण थापा सेतो कुर्थामा पर्दामा देखिन्छन् । उनको अभिनय शैली अरु चलचित्र भन्दा फरक छैन । बोलीको लवज तराईको जस्तै बनाउने प्रयास गरेका छन् । तर कृत्रिम लाग्छ । बनावटी लाग्छ ।
चलचित्रमा गुण्डागर्दी र राजनीति कसरी मिसिएको हुन्छ निर्देशकले देखाउने कोशिस गरेका छन् । लोक सेवा पार्टीका नेता बनेका रमेश बुढाथोकीले मुख्यमन्त्रीको भूमिका निभाएका छन् । उनको उठबस भगवानभाई यादव अपर्ण थापासँगको चलचित्रमा देखाइएको छ । यहीबाट राजनीतिको आडमा अपराध मौलाएको अनेकौं घुम्ती देखाइएको छ ।
चलचित्रमा जव जुनकिरी(मिरुना मगर) दिलमाया मगरको सक्कली नामसँगै खुफिया एजेन्ट भएको खुलेपछि चलचित्रले नयाँ मोड लिएको छ । चलचित्रकी नायिका पात्र जुनकिरी मात्रै होइन विजय बनेका दयाहाङ पनि नायकजस्ता छैनन् । दुवैले गोली हान्दै मान्छे मार्ने धन्दा गरेका छन् । चलचित्रका नायक नायिका नै खलनायकको भूमिकामा देखिएपछि अपराधलाई प्रोत्साहन भएको छ ।
चलचित्रमा खलपात्रहरु प्रहरीको फन्दामा पर्ने भन्दा पनि चलचित्रका पात्र प्रहरी अधिकृत मान बहादुर मुखिया नै अपराधमा संलग्न रहेको दृश्य छ । चलचित्रको अन्त्य सिक्वेल बनाउने लोभमा अपराध निर्मुल भएको देखाइएको छैन । त्यसैले अपराधलाई चलचित्रले प्रात्साहन गरेको छ ।
प्रतिक्रिया