११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र क्षेत्रमा निरन्तर तपस्यापछि यो स्थान प्राप्त भयोः भुवन केसी



३० फागुन । ‘दोस्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ सुर्खेतमा सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एवं अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित कार्यशाला सकिएको हो ।
केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजना रहेको कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म चलेको थियो । कर्णाली प्रदेशका १० जिल्लाका २५ जना विद्यार्थीको कार्यशालामा सहभागिता थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीले आफूले अभिनयलाई अँगालेर चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि मात्र आज यो स्थान प्राप्त भएको बताए । ‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसाबले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य चलचित्रले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई चिनाइसकेको छ’, केसीले भने । कार्यशालामा सहभागी विद्यार्थीहरूले आउँदा दिनमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने विश्वास आफूले लिएको केसीले बताए ।

२०७९ सालमा आयोजना गरेको पहिलो कार्यशालाले यहाँका युवाहरूलाई चलचित्र क्षेत्रमा आकर्षित गरेपछि यसपटक उनीहरूलाई एडभान्स कोर्स सैद्धान्तिक र प्रयोगात्मक रूपमा सिकाइएको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले बताए । कर्णालीको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका लागि दोस्रो पटक पनि यो कार्यशाला आयोजना गरेको खड्काको धारणा रहेको छ ।

कार्यशालामा चलचित्र लेखक/निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रँगकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए । प्रयोगात्मक रूपमा भएको यो प्रशिक्षणमा उनीहरूलाई दृष्य छायाङ्कन र स्थलगत अभ्यास सहित सम्बन्धित कला सिकाइएको थियो ।

कार्यशालामा हरेक विद्यार्थीले अभिनय र एक्सन कटसँगै आफ्नै कथा दृश्यगत रूपमा भनेका थिए । यो कार्यशालाको स्थानीय संयोजक निर्मल प्याकुरेलले यसपटकको कार्यशाला कर्णालीका उदाउँदै गरेका युवा सिनेकर्मीहरुका लागि निकै फलदायी भएको बताए ।

कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक सङ्गीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रा.लि.बाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरे ।

समारोहमा कर्णालीका अग्रज कलाकार प्रेमदेव गिरी, गँगा केसी, सम्मानित व्यक्तित्व मोहन गौतमलगायतले यो कार्यशालाले कर्णालीमा राम्रो चलचित्र, वृत्तचित्र अब निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५९ बजे