६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिस्केट जात्रा आगामी मंगलबारदेखि शुरु हुने



२१ चैत । भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गतेदेखि शुरु हुने भएको छ ।

नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर शुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ । जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरवको रथको आजदेखि छाना राख्ने काम शुरु भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।

उनले आजैबाट भद्रकालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताइन् ।

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन एवम् सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न शुरु गरिने उनले जानकारी दिइन् ।

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवम् ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले रु ४० लाखको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने उनले बताइन् ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा शुरु हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : २७ बजे