२८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मेयर थापाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारले बताएको छ ।
कूल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ थापाले अवैध तरिकाले आम्दानी गरेको अख्तियारको दाबी छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।
थापाले अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेकाले सम्पत्ति जफत गर्नका लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया