१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर कक्षा १२ को परिक्षा शान्तिपूर्ण रुपमा सुरु, तीन लाख ९० हजार परीक्षार्थी सहभागी



भक्तपुर
१४ वैशाख । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् ।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

बोर्डका अध्यक्ष डा शर्माले भने, “कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शान्तिपूर्ण रूपमा सुरु भएको छ । विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी पाएका छौँ । ”

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।