१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बत्तिसपुतली हत्या काण्डमा पक्राउ परेका चारै जना नाबालक



काठमाडौँ
३० वैशाख ।  काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।
गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता अधिकारीले भने, “गएराति दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ, घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा नाबालक रहेको खुल्न आएकाले नाम सार्वजनिक गरिएको छैन, उक्त विषयमा थप पुष्टि गर्ने कार्य भइरहेको छ ।”
झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा सुरु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएको बताइएको छ । मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।