१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार, काठमाडौंबाट एक जना पक्राउ



३१ वैशाख । अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको छ । यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिनान्सबाट २ खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । ढुंगानाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गरिने प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : १६ बजे