ललितखबर
३० वैशाख । आजकल आधुनिक पुस्ताको लवाई खुवाई अनि हाँस्नेबोल्ने शैली पछ्याउने थुप्रै युवकहरु छन् । यस्तै शैली पछ्याउने धराने युवहरुको कथामा आधारित चलचित्र ‘खजुरे ब्रो’ गत हप्तादेखि चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
धरानमा डुलिहिड्ने हाइजिन सुनिल र खजुरेको चरित्रमा आधारित चलचित्र ‘खजुरे ब्रो’चलचित्रले एउटा युगको सम्झना गराउन खोजिएको छ । चलचित्रमा रेअर राई ‘खजुरे’जस्तै बन्ने कोशिस गरेका छन् भने गीत गाँउदै हिड्ने अर्का पात्र हाईजिन सुनिलको सम्झना दिलाउदै अल्लारे युवक अनि कवि बनेर अभिनेता महेश त्रिपाठीले चरित्र निभाएका छन् ।
धरानको नमूना पात्रलाई निर्देशक सुरज सुनुवारले चलचित्रमा रमाइलो पारामा देखाउने प्रयास गरेका छन् ।
धरानको कथा भनेर प्रचार गरिएको भए पनि धरानलाई सुन्दर तरिकाबाट देखाउन सकिन्थ्यो त्यो मेहनत सिनेमेट्रोग्राफर शिशिर विशंखेले गरेका छैनन् ।
चलचित्रमा खजुरे (रेअर राई)केही फोहोरी र रफ पात्रको रुपमा प्रस्तुत गरिएको छ । तर उनको अपोजिटमा अभिनय गरेकी नीति शाह (पारु)को सुकिलो मुकिलो स्वरुप हेर्दा चलचित्रमा के नमिलेको के नमिलेको लाग्छ ।
निर्देशक सुनुवारले दृश्यभाषाको ज्यादा प्रयोग गरेका छैनन् । चलचित्रमा संवाद हाबी छ । ठाँउ ठाँउमा पात्रहरु चिच्याएका च्याठिएकोे सुन्नु पर्दा उराठलाग्दो लाग्छ ।
चलचित्रमा ठाँउ ठाँउ दृश्यहरु थोपरिएको भान हुन्छ । कमेडी जनरामा चलचित्रलाई अघि बढाउन चाहे पनि दर्शक हाँस्ने रुनु पर्ने हालत छ । सुँगुरलाई चश्मा र चुरोट लगाइदिएको जस्ता दृश्य देख्दा चलचित्र हेरेर पैसा खेर भएको अनुभव हुन्छ ।
सहकारी बेथिती,अल्लारे खजुरे र खजुरे र चिल्लीको अल्लारे समूहको हर्कत र पैसाको तानातानजस्ता कथाका विविधता हेरिरहँदा चलचित्रले के सन्देस दिन्छ भन्ने पत्तै पाइन्न । ठाँउ ठाँउमा क्यामेरा हल्लिएको अनि फोकस नमिलेको भान हुन्छ ।
नीति शाह
चलचित्रमा नवअभिनेत्री नीति शाहको पारु पत्रको रुपमा चलचित्रमा अभिनय गरेकी छिन् । उनको अभिनय हेर्दा चलचित्रमा दमदार प्रवेशको अपेक्षा निराशामा परिणत भएको छ । चलचित्रमा उनको चरित्र मोडल नीति मोडलजस्तै लाग्छिन् । एउटी अभिनेत्रीले चलचित्रमा अभिनय गरेको जस्तो लाग्दैन।
डेव्यु चलचित्र खजुरे ब्रोमा नीतिको अभिनयमा कुनै नयाँपन देखिदैन । उनको अभिनय हेर्दा लाग्छ, चलचित्रमा एउटी मोडल ठिङग उभ्याइएको छ । उनी मुसुक्क हाँसेकी छिन् । उनले बोल्ने संवादमा बनावटी स्वर सुनिन्छ । चलचित्रमा अभिनेत्रीको रुपमा छाप छोड्ने चरित्र निर्माण गरेकी छैनन् । उनको अभिनय हेर्दै अप्ठ्यारो लाग्छ । कनेर मुस्किलले संवाद बोलेको सुनिन्छ ।
रेअर राई
चलचित्रको मुख्य भुमिकामा रहेका रेअर राईकोे अभिनय पनि कसकसपुर्ण छ । उनी चरित्रमा चुलुम्म डुवेका छैनन् । चलचित्र हेरिरहँदा ठाँउ ठाँउमा अभिनेता राईले चरित्र बाहिर गएर अभिनय गरेको भान हुन्छ । गीतमा नृत्य गरेको हेर्दा शरिर मुस्किलले हल्लाइरहेको देखिन्छ । सुन्दरी नीति शाहसँगको जोडी रहेर अभिनय गरेको हेर्दा केमेष्ट्रि मिलेको छैन ।
महेश त्रिपाठी
अभिनेता महेश त्रिपाठीको अभिनय भने राम्रो छ । उनले चलचित्रको चरित्रलाई भरपुर उपयोग गर्न सफल छन् । उनले आफूलाई फरक चरित्रमा भिजेर अभिनय गर्ने शिल्प पस्केका छन् । धराने तन्देरीको हाउभाउ र बोलिचालीलाई दुरुस्तै टिपेर चलचित्रमा देखाएका छन् । उनको अभिनयमा छलकपट छैन । महेशले चलचित्रमा देखाएका लफङ्गा युवकको सबै हर्कत उचित लाग्छ । चिल्ली पात्रको अभिनयमा डुवेका महेश त्रिपाठीले धराने युवकको पारामा भन्ने माका डक्स सुन्न लायक छ ।
नवीन मानन्धर
नवीन मानन्धरले सहकारी ठग हिराकाजीकोे खलनायकको भूमिका निभाएका छन् । उनको अभिनय पनि सिकारु कलाकारको अनुभव हुन्छ ।
पुस्कर कार्की
एक धनाढ्य पात्रको रुपमा चलचित्रमा देखिएका पुस्कर कार्की अभिनयमा भिजेका छन् । उनले चलचित्रमा सरिफ युवकको चरित्रलाई न्याय गरेका छन् ।
चलचित्र हेर्ने दर्शकले दुई घण्टा १६ मिनेटभित्र धेरै पटक समय हरेर कहिले सकिएला र घर जाउ भन्ने लाग्छ । चलचित्रको मध्यान्तरअघिका दृश्यहरु झिजो लाग्दो छ । मध्यन्तरपछि केही रोचक लागे पनि कलाकारको अभिनयमा प्राण भरिएको छैन । कथा बनावटी लाग्छ ।चलचित्रमा सुङ्गुर अगाडि बसेर भात खाईरहको, सावुन कोटेको जस्ता वाक्क वाक्क लाग्ने घीनलाग्दो दृष्य किन राखेको होला भन्ने प्रश्न उठ्छ ।
चलचित्रको कथामा धेरै कमजोरी देखिन्छ । कथामा उठान गरिएका कतिपय प्रसंग हराउछन् । कथामा नयाँ नयाँ तथ्य खुल्छ अनि त्यत्तिकै हराउदै जान्छ । चलचित्र सलल बग्दैन ।
बेवारेसी कथा
धराने युवकहरु चलचित्रको सुरुमा लास पुर्ने काम गर्छन् । खजुरेको समूह फेरि पेशाका देखिन्छन् । चलचित्र अन्तै मोडिन्छ । महेश त्रिपाठी कवि हो कविता लेख्छ, बेच्छ । तर ऊसलाई चलचित्रको पुरापुर यो चरित्रमा देखाइएको छैन । सँगसँगै उ लफंडा केटा हो । जड्याहा छ । गाजा खान्छ । चलचित्रका लेखक सुरज सुनुवारले चलचित्रको कथा फनफनी घुमाएका छन् ।
चलचित्रको बीचमा सहकारीको सन्चालक समितीको अध्यक्ष परिवर्तन गर्न आन्दोलन देखाइएको छ । तर त्यो आन्दोलन कहाँ पुग्यो ? के भयो ? केही भन्दैन । यस्ता कथाका थुप्रै घुम्ती चलचित्रमा भेटिन्छन् । दर्शकको दिमाग फन्फनी घुम्छ तर उत्तर मिल्दैन । गाजा तानेको र भट्टीमा हल्लिने युवाहरुको कथा भए पनि लागू औषध दुव्र्यसनीबारे केही बोलिएको छैन ।
खजुरे पात्रसँगै चलचित्रको कथा भरोसा सहकारीमार्फत समाजमा भइरहेको विकृत आर्थिक अपारदर्शिता देखाउन निर्देशक तथा लेखक सुनुवारले कथा बुनेका छन् । तर सहकारीको पैसा बोराका बोरा बोकेर हिडेको कत्ति पनि मिल्दो देखिदैन । चलचित्रको अन्तिमतिर पैसाको छेलोखेलो हेर्दा जात्रा सिरिजको भद्दा कपि गरेर चलचित्र चलाउन निर्देशक तथा लेखकले बठ्याई गरे कि भनेर शंका गर्ने ठाँउ दिएका छन् ।
वास्तविक जीवनमा हाइजिन सुनिल गीत संगीतमा पारंगत थिए । उनकै पात्रमा आधारित रहेर अभिनय गरेका महेश त्रिपाठीलाई भने कविको रुपमा प्रस्तुत गरिएको छ । धरानका खजुरेको भने रेविज रोगबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया