७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ प्रजातिको चरा भेटियो



गण्डकी
४ जेठ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिएका छन् ।

कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ ।

यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : ५८ बजे