७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता नबढाइने



१५ जेठ । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले ज्येष्ठ नागरिकलगायत लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको उल्लेख छ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरिएको पुनले जानकारी दिएका छन् ।

पछिल्लो पटक आर्थिक वर्ष २०७८/६९ को बजेटले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको थियो । यसअनुसार वृद्ध भत्ताबापत मासिक ४ हजार रुपैयाँ दिने गरिएको छ । सरकारले ज्येष्ठ नागरिकसहित अपाङ्गता भत्ता, एकल महिना भत्तासहित बाल पोषण भत्ता दिँदै आएको छ ।

पछिल्ला वर्षमा सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ ।

गत फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ ।

६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २ सय ७०, विधवा महिला ५ लाख ७६ हजार ५ सय ५३, पूर्ण अपाङ्गता भएका ६६ हजार ४ सय ५२, अति अशक्त अपाङ्गता भएका १ लाख ४२ हजार १ सय ८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १ सय ७६, लोपोन्मुख जाति २२ हजार २ सय ४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८ सय ४४ छन् ।

हरेक वर्ष सरकारले भत्तासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सबै सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो ।

सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कुल बजेटको १४.७८ प्रतिशत, चालु बजेटको २२. ६७ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा कुल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : १९ बजे