२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बलम्बु गोदाम आगलागी घटनाः सशस्त्रका डिआइजी थापा, एसपी श्रेष्ठसहितलाई कारबाही गरिने



२० जेठ । सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागीमा बाहिनीपति र स्टोर प्रमुखलाई कारबाही हुने भएको छ । गृह मन्त्रालयले आगलागीको छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा गठन गरेको छानबिन समितिले बाहिनीपति र स्टोर प्रमुखको कमजोरीका कारण आगलागी भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गर्न लागिएको हो । गत २७ चैतमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी हुँदा २० करोडभन्दा धेरैको क्षति भएको थियो ।

सशस्त्रको स्टोरको सुरक्षा हेर्ने जिम्मेवारी पशुपतिनाथ बाहिनीको थियो । आगलागी हुँदा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा थिए । थापालाई समितिको सिफारिसका आधारमा कारबाही गर्न लागिएको निकटस्थ स्रोतले जानकारी दियो ।

थापामाथि बाहिनीको कमान्ड गरिरहेकोले समयमा सक्रियता नदेखाउँदा धेरै क्षति भएको आरोप समितिले लगाएको छ । सहसचिव पाण्डे नेतृत्वको समितिले बाहिनी कमान्डको समेत कमजोरी औँल्याउँदै कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो । प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी मुख्यालयले गम्भीर प्रकृतिको विभागीय कारबाही गर्न लागेको बताइन्छ ।

त्यस्तै आगलागीमा केन्द्रीय स्टोरका प्रमुखको पनि कमजोरी देखिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । आगलागीका बेला केन्द्रीय स्टोरको प्रमुखमा प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ थिए ।

स्टोर प्रमुखको समेत लापरबाहीले आगलागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । अब उनीहरूमाथि थप कारबाहीको तयारी भइरहेको स्रोत बताउँछ ।

आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए । कतिपय ठेकेदारले बुझाएका तथा सशस्त्र प्रहरीले बुझिनसकेका सामानसमेत जलेर नष्ट भएका सशस्त्र प्रहरीले जनाएको छ ।

छानबिनका क्रममा विद्युत् सर्ट भएरै आगलागी भएको निष्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : १५ बजे