काठमाडौं
२१ जेठ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ ।
चलचित्रमा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि चलचित्रका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।
यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । चलचित्रको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।
चलचित्रमा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
यस्तै यो चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।
यस चलचित्रलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । चलचित्रमा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ ।
यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया