९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन



२३ जेठ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेका महानगरपालिकाले जनाएकाे छ।
अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको ठहर महानगरपालिकाले गरेकाे छ।

‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।’

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।

‘सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत् सूचित गरिन्छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : २१ बजे