१२ असार २०८१, मंगलबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका घर–घरमा नगरप्रहरी अभियान



पाटन (ललितपुर)
२३ जेठ । ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ ।

“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने नाराका साथ आफ्ना गतिविधिहरू, विकास निर्माणका काम र सामाजिक काम गर्दै आएको सुन्दर ललितपुर नगरी, घरघरमा नगरप्रहरी परिचालन अभियान आजबाट सुरु भएको हो ।

ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको दाबी गर्दै मेयर चिरीबाबु महर्जनले यस अभियानले बहुआयामिक महत्व कायम गर्ने धारणा राखे ।

“निर्वाचन जितेर जनप्रतिनिधि जनताको घरदैलोमा पुग्न नसकेको अवस्थामा घरघरमा पुगेर त्यसको रिक्ततालाई मेट्दै उनीहरुको सेवा, सुविधा र सहयोगमा थप मद्दत पु¥याउने छन् भन्ने हाम्रो विश्वास छ, वडा अध्यक्षलाई पनि काम गर्न सहज हुनेछ”, मेयर महर्जनले भने ।

अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगरप्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगरका मेयरलाई गराउने व्यवस्थापन भएको उनले बताए । यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउदै मेयर महर्जनले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताए ।

उनले नगरप्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षरोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी दिए । वृक्षरोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको बताउँदै विगतमा बोटबिरुवा मास्ने एक जनालाई रु एक लाख र अर्कालाई रु १५ हजार जरिवाना गरिएको बताए ।

एक जनाको फाइदाका लागि धेरैको ज्यान जोखिममा राख्न सकिन्न भन्दै मेयर महर्जनले वातावरण प्रहरी परिचालन गरेर सवारीसाधनको धुँवा परीक्षण गर्ने र मापदण्डअनुसार नभए तत्कालै कारबाहीका लागि पठाइने व्यवस्था मिलाइने बताए । नगरप्रहरी परिचालनले नगरबासीको दिनचर्या र धार्मिक तथा सामाजिक काममा सहजीकरण हुने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले संस्कृति र सम्पदा संरक्षणमा ललितपुरको नगरप्रहरीले गरेका काम उत्कृष्ट रहेको भन्दै ललितपुर प्रहरीले नगरप्रहरीसँग मिलेर धेरै राम्रो काम सम्पादन गर्न सकेको बताए ।

उनले घरघरमा नगरप्रहरीसँगै समुदायमा प्रहरी कार्यक्रमलाई पनि संयुक्तरूपमा जोडेर काम गर्न सकियो भने अपराध नियन्त्रण र विपद् व्यवस्थापन काम गर्न सकिने बताए । उनले ललितपुरलाई संसारकै सुरक्षित र भयमुक्त समाज निर्माण गर्न सम्भव बताउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि सूचना आवश्यक भएको बताए ।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले यस अभियानले महानगरबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुने भन्दै नागरिकको अपेक्षा सम्बोधन गर्न सम्भव हुने बताए ।

महानगरका नीति, नियम, कर व्यवस्थापनका कानुन, विकासका विषयमा जानकारी दिन महानगरमा रहेका एक लाखभन्दा बढी घरमा नगरप्रहरी परिचालन हुने नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । अहिले ललितपुर महानगरले एम्बुलेन्स, शवबहान, ढल निकासको सरसफाइका लागि जेटिङ मेसिनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ५ : ३४ बजे