३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्याइ एवम् सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन प्रधानाध्यापक भट्टराईसहित शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी र शाक्य अफसेट प्रेसका प्रोपाइटर केशव कुमार शाक्यविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।
उनीहरुले खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको अख्तियारको दाबी छ । विद्यालयको खानेपानी आपूर्तिका लागि आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको रकम र पुस्तकालय व्यवस्थापनका लागि आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी बिल भरपाइ मिलाइ रकम अनियमितता गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।
प्रधानाध्यापक भट्टराईलाई ४ लाख ६० हजार ४ सय ५५, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई ३ लाख ४३ हजार, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो र सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया