१५ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वाग्द्वारका मन्दिरबाट पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति



काठमाडौँ
७ असार । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने वाग्द्वारमा सत्यानन्द शिवाचार्यले पूजा आराधना गर्दै आएकामा निकुञ्जले निकाल्न लागेकाले विरोध गर्नुपरेको स्थानीयवासी एवं बिपी सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी दिएका छन् ।
निकुञ्जभित्रको अप्ठ्यारो ठाउँमा बसेर नित्य पूजा गर्ने सन्तलाई हटाएर निकुञ्ज प्रशासनले सनातनकालदेखि चलिआएको परम्परा मास्न खोजेको भनी स्थानीयवासी सम्मिलित एक समूह सो सन्दर्भमा यथार्थ बुझ्न हालै वाग्द्वार पुगेको थियो ।

वाग्द्वार पुगी बुझ्दा नित्य पूजा गर्दै आएका शिवाचार्यलाई त्यहाँबाट निकाल्नका लागि प्रक्रिया सुरु भएको भन्ने जानकारी प्राप्त भएको अध्यक्ष पोखरेलले बताए ।

स्थानीय हेमन्तकेशर पण्डितले करिब दुई दशकअघि सोही ठाउँमा नित्य पूजा गर्ने टोड्के बाबाका नाममा परिचित पुजारीले आश्रम भन्दै निकुञ्जबीचमा होटल चलाउँदा पनि निकुञ्ज प्रशासनले उनैलाई विश्वास गरी नित्य पूजामा संलग्न शिवाचार्यलाई निकाल्न खोज्नु खेदजनक विषय भएको भनी दुःख व्यक्त गरे ।

निकुञ्जका सूचना अधिकारी शिवलाल गैरे मुख्य निकुञ्ज क्षेत्रमा भवन र मानिस नराख्ने नीतिअनुसार सबैलाई हटाउन खोजिएको बताउछन् । शिवाचार्यलाई हटाउन जेठ तेस्रो साता सहमति भई कागज गराएको उनले दाबी गरे ।

टोड्के बाबाले होटल चलाएको विषयमा सूचना प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी डा गणेश पन्त बताउछन् । टोड्के बाबाले निकुञ्जभित्र चलाएको होटलमा मानिस रातिसमेत बस्न थालेको भन्ने जानकारी प्राप्त भएपछि त्यहाँको संरचना हटाउन लागेको उनले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ८ : ४९ बजे