२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


संसारकै अग्लो ठाँउ सगरमाथा नजिकै नाचेर विश्व कीर्तिमान



 

काठ्माडौं
९ असार । दुई युवाले सगरमाथा नजिकै संसारकै अग्लो ठाँउमा नाचेर विश्व कीर्तिमान कायम गरेका छन् ।

नेपाली डान्स क्रु ’वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ’गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका हुन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन।

सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन। यति ठुलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो,’ मन मगन’ जुन साढे दुई मिनेट लामो छ। सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए। उनीहरुलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए।

उनीहरुको यो प्रयासलाई ’गिनिज वल्र्ड रेकर्ड’ले अनुमोदन गरेको छ। भने रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो।

रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै सुरेन्द्र र सुसन सुनाउँछन्,’हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ ।’

खराब मौसमको बावजुद पनि यो जोडीले आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो। यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए। सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ’गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ६ : ०५ बजे