११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरद्वारा नदी सफाइ गर्न शुरु



९ असार ।  काठमाडौं महानगरपालिकाले यहाँका नदीहरूको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले हाल इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेको छ ।

उक्त समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । अरू नदीमा भन्दा इच्छुमतीमा बढी फोहोर भेटिएको समूहका सुपरभाइजर सागर लुइँटेलले जानकारी दिए ।

रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुन्जेल सफा देखिएको रुद्रमतीमा प्लास्टिकलगायत फोहोर थुप्रिन थालेको छ ।

सफाइ गरुन्जेल आकर्षक देखिएको नदी फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन् ।

महानगरपालिकाले यस क्षेत्रका अरू नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ ।

महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहोर फाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुन्नुपर्ने अवस्था छ ।

०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । वाग्मती सफाइ महाअभियानले ५८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु गरिए पनि अवस्था उस्तै छ ।

जनस्तरबाट सुरु महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ थालेको हो ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ८ : १८ बजे