१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र दान्भी : दर्शकलाई रनभुल्ल पार्ने चलचित्र



ललितखबर
१० असार । नेपालमा विरलै एक्सन चलचित्र बन्छन् । एक्सन चलचित्रमा महिलाको एक्सन हेर्न सम्भवतः पाइएकै छैन । अभिनेत्री पुजा शर्माले अभिनय गरेको एक्सन नै एक्सन भरिएको चलचित्र दान्भीमा गएको शुक्रबारबाट देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ ।
चलचित्रको ट्रेलर र पोस्टर हेरेरै दर्शकले अभिनेत्री पुजाको एक्सनले भरपुर मनोरञ्जन लिन सकिने अनुमान लगाएका थिए । चलचित्रको प्रमोसनमा पनि एक्सन र मेसिन गनका धेरै कुरा भए ।
तर चलचित्रको मध्यान्तरसम्म अभिनेत्री पुजा शिक्षिकाको जागिर खाँदै अभिनेता कुञ्साङ र किरणसँग रोमान्स गर्दै बिताएकी छिन् । यद्यपी चलचित्रको सुरुमै अभिनेत्री पुजा बुलेटमा गरेको इन्ट्रि राम्रो छ । तर किन उनी आइन् गइन् दर्शकलाई निर्देशक रुपेश तामाङ्गले भेउ नै दिएका छैनन् ।


पुजा शर्मा
अभिनेत्री पुजाले चलचित्रमा अभिनय होइन नखरा देखाएकी छिन् । उनको संवाद बोल्ने शैली बनावटी छ । लाग्छ अभिनेत्री पुजा अभिनयमा डुवेर काम गरिरहेकी छैनन् । ख्याल ठट्टा गरिरहेकी छिन् ।
अभिनेत्री पुजाले चलचित्रमा एक्सनका दृश्य भने दमदार दिएकी छिन् । नेपाली चलचित्रमा पुजाको जस्तो एक्सन अन्य चलचित्रमा हेर्नै पाइएको थिएन । चलचित्र हेर्दै गर्दा लाग्छ––अभिनेत्री पुजासँग क्षमता छ । तर चलचित्र निर्देशकले त्यो क्षमता पहिचान गरेर निकाल्न असफल छन् । चलचित्रमा पुजाको एक्सन हेर्दा नेपाल चलचित्रमा पनि विविधता आएको, नयाँ खाले चलचित्र निर्माण हुने क्रम बढेको छनक दिन्छ । उनको एक्सन अवतार प्रशंसा गर्न योग्य छ ।

कुन्साङ बोम्जन
डेव्यु अभिनेता कुन्साङ बोम्जनको एक्सन दमदार नै छ । चलचित्रमा उनले नृत्य समेत राम्रो गरेका छन् । तर उनको अभिनय र संवादशैलीमा थुप्रै खोट लगाउने ठाँउ छ । चरित्रमा डुवेर अभिनय गर्ने क्षमता अभिनेता कुन्साङमा देखिन्न । उनको लुक्स, हाइटलगायत एउटा अभिनेतामा हुनुपर्ने गुणहरु राम्रो देखिन्छ । तर उनले अभिनय क्षमतालाई निखार बनाउदै लैजानु जरुरी देखिन्छ ।

किरण श्रेष्ठ
तुलनात्मक रुपमा छोटो भूमिकामा देखिएका किरण श्रेष्ठको अभिनय क्षमता औसत देखाएका छन् । उनी एक्सन अवतारमा भने खरो रुपमा प्रस्तुत भएका छन् ।

चलचित्रमा राजाराम पौडेलले अरु चलचित्रजस्तै सदावहार अभिनय र चरित्रलाई दान्भीमा समेत निरन्तरता दिएका छन् ।
चलचित्रमा सिनेमेट्रोग्राफीमा हरिबहादुर घलेको काममा खोट लगाउने ठाँउ छैन । सत्यन रानाको भिएफएक्सको प्रयोग पनि राम्रो छ । पार्शसंगीत चाँही ठाँउ ठाँउमा कर्कसलाग्दो छ ।
चलचित्र दान्भीमा थुप्रै कमजोरी छन् । चलचित्रको कथाकार प्रविण थापामगरले चलचित्रमा के देखाउन खोजेका हुन् प्रष्ट छैन । कथामा थुप्रै कमजोरी भेटिन्छ । चलचित्रको कथा मेरुदण्ड नै गतिलो नभएपछि चलचित्र राम्रो हुने कुरै आउदैन । चलचित्रको कथा सलल बग्दैन । मध्यान्तरपछि नयाँ नयाँ रहस्य त खुल्छन् तर रहस्य नाटकीय लाग्छ ।
चलचित्र निर्देशक रुपेश तामाङको निर्देशकीय क्षमतालाई भरपुर प्रयोग गर्न चुकेका छन् । उनले कलाकारहरुलाई चरित्र निर्माण गरेर अभिनय गराएका छैनन् । पात्रहरुलाई आर्दश पात्र रुपमा चित्रण गरिएको छैन । निर्देशकले ग्लामरको भरपुर उपयोग गरेको देखिन्न ।
चलचित्रमा निर्देशकले थुप्रै रहस्यसँगै दर्शकलाई रनभुल्लमा राखेका छन् । भारतको कालिङपोङमा रहेका पात्र संगसंगै काठमाडौंमा किन र कसरी सँगसँगै काठमाडौंमा आए त्यसको भरपर्दो जवाफ भेटिन्न ।
चलचित्रमा अभिनेत्री पुजा शिक्षिकाको भूमिका रचना नामले चिनिएकी छिन् । तर चलचित्रको उत्तरार्धतिर वास्तविक नाम दान्भी रहेको रहस्य खुल्छ । उनले किन परिचय लुकाइन् ? यसको जवाफ चलचित्रले दिदैन । मायालु रचना एक्कासी दानव जस्ती दान्भी चरित्रमा रुपान्तर हुनुलाई दर्शक रहस्य खुलेको होइन दृश्यहरु ज्यादै नाटकिय रुपमा बदलिएको लाग्छ ।

चलचित्रमा कुन्साङ बोम्जन (सारांश) र किरण श्रेष्ठ (शिर्षक) प्रहरी अधिकारी भए पनि प्रहरीजस्तो कही कतै लाग्दैनन् । उनीहरुले चलचित्रमा प्रहरीको पोशाक समेत लगाएका देखिन्न् । चलचित्र हेरिरहँदा प्रहरीको रहस्यमय भूमिका रोचक होइन पत्याउन गाह्रो लाग्ने नाटकजस्तै छ ।
चलचित्रको कथामा सालसिला मिलेको छैन । घटना र दुर्घटना ठाँउ ठाँउमा जोडिएको भान हुन्छ । चलचित्रका पात्रहरुले कथाको चरित्रलाई बोकेर अभिनय गरिरहेका छैनन् । चलचित्रमा पात्रहरुले दिएको धोकाधडी पनि नाटकीय लाग्छन् ।
चलचित्रको पदकथा र संवाद दमदार छैन । चलचित्रमा प्रयोग गरिएको गीत मायाँको खानी सुमधुर छ । गीतको छायाँकनस्थल र छायाँकनले आँखालाई शित्तल महसुस हुन्छ । संगीत कर्णप्रिय छ ।
चलचित्रका दुवै अभिनेता नयाँ हुँदा पनि दर्शकले उनीहरुको क्षमतामा शंका गर्दै चलचित्र हेर्न पर्ने बाध्यता छ । सानातिना कमजोरी पनि निर्देशक तामाङले अभिनयले छोपिदिन सक्थे । त्यसो गरिएको छैन ।
अभिनेत्री पुजा शर्माको नयाँ चरित्रमा काली र दुर्गाको रुपमा उदय हुन्छ भन्दै संवाद बोलिएको सुनिन्छ तर दान्भी काली र दुर्गाको स्वरुपको कही कतै छनक दिदैन । उनको एक्सन अवतारमा क्रुरता प्रर्दशन गरिएको छ । चलचित्रको कथा र चरित्र हेर्दा त्यो क्रुरता अवतारमा पुजालाई उतार्नु के जरुरी थियो ? दर्शकको मनमा यस्तै प्रश्न उव्जिन्छन् ।
चलचित्रमा सबै ठिकठाक चलिरहेको अवस्थामा एकाएक मारपिट र गुण्डागर्दीको दृश्य अनपेक्षित र अकल्पिनय लाग्छ । त्यसैले चलचित्र हेर्दा हेर्दै दर्शक धेरै ठाँउमा रनभुल्ल पर्छन् ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  १ : ४३ बजे