१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने



१४ असार । काठमाडौं महानगरपालिकाले वर्षाका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको बताएको हो।

कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताए। ‘विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई क्यापिङ् (माटोले छोपेर मिलाउने काम) गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यसवर्ष फोहर व्यवस्थापनमा समस्या हुँदैन,’ उनले भने।

लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने विश्वास व्यक्त गरे।

कामपाका कूल ३२ वडामध्ये भित्री नौवटा वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। हरेक दिन उपत्यकाबाट १२०० मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्छन्।

उपत्यकाका १८ पालिकाको फोहर दैनिक रुपमा त्यहाँ पुग्ने गरेको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ। विसं २०६८ मा सरकारले जारिगरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारिगरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ।

यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  १२ : ५८ बजे