१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय धान दिवस मनाइँदै : ९.८ प्रतिशत रोपाइँ



१५ असार । आज राष्ट्रिय धान दिवस अर्थात् असार १५ । सरकारले मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा लिइने धान दिवस अवसरमा पहिलोपल्ट उपत्यकाबाहिर काठमाडौं उपत्यकाबाहिर रोपाइँ महोत्सव आयोजना गर्दै छ।

करिब ७० प्रतिशत हाराहारी जनता कृषि पेसामा आबद्ध भएकाले नेपाललाई कृषिप्रधान देश मानिँदै आएको छ। अधिकांश जनताको पेसा खेतीपाती भए पनि समयमै मलबिउ नपाइनु, रोजगारीका लागि बिदेसिने जनसंख्या बढ्दै जाँदा खेतबारी बाँझै रहनुलगायत समस्या पछिल्लो समय विकराल रुपमा बढ्दै गएको छ।

असार महिना किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ।

धान दिवस अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत। तस्बिर सौजन्य: राष्ट्रपतिको कार्यालय

मध्य गर्मीको यो समय युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा छ।

यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। रासायनिक मल पनि अभाव भएको गुनासो किसानले गरिरहेका छन्। यद्यपि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।

सरकारी स्तरबाट धान दिवसका औपचारिक कार्यक्रम आयोजना गरिए पनि धान खेती हुने क्षेत्रफल बर्सेनि घट्दो छ। चालू आर्थिक वर्ष २०८०/८१ मा कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवभन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भएको कृषि विभागले जनाएको छ।

अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ, जुन विगत चार आवको तुलनामा १.७३ प्रतिशतले कम हो।

यद्यपि विभागले चालू आवमा धान उत्पादन गत आव २०७९/८० भन्दा ४.३३ प्रतिशतले वृद्धि तथ्यांक सार्वजनिक गरेको थियो।चालू आवमा धान उत्पादन ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको छ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ५ : २९ बजे