१८ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले काले काले मिलेर खाऊँ भाले भन्दै कटाक्ष गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,“यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले,”। दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
यस्तै उनले आफ्नै पोस्टमा गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ’एकपल्ट’लाई बेच्न दिने ’विधेयक’ संसदबाट पास भएको आश्चर्य व्यक्त गर्दै कमेन्ट पनि गरेका छन् ।
उनले भनेका छन्, ’गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ’एकपल्ट’लाई बेच्न दिने ’विधेयक’ संसदबाट पास भएछ ! नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।’
प्रतिक्रिया