२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


धुलिखेल नगरपालिकाले तालिमपछि खोजिदियो जागिर



काभ्रेपलाञ्चोक
२५ असार । धुलिखेल नगरपालिकाले तालिमपछि जागिरको अवसर प्रदान गर्न थालेको छ ।
सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा जागिर दिइएको हो ।

रोजगार सेवा केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात उक्त सङ्ख्यामा जागिर प्रदान गरिएको जनाइएको छ ।
भक्तपुरको ग्लोबल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना व्यक्तिलाई तालिमपश्चात जागिरका लागि भक्तपुरको सुमेरु र काठमाडौँको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित जागिर प्रदान गरिएको नगर रोजगार संयोजक सम्झना नेपालले बताइन् ।

तालिमप्राप्त व्यक्तिले घर छाडेर अन्यत्र जागिर चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध भइसकेको र नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल धुलिखेलको स्थानीय सेवा प्रदायक संस्थाहरूसँग समन्वय गर्ने काम भइरहेका मेयर अशोक ब्याञ्जूले बताएका छन् । मेयर ब्याञ्जूका अनुसार युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्य लिएको हो ।

यस्तै नगरले वेटर÷वेट्रेसका लागि २५ वर्ष उमेरभित्रका युवा तथा सबै उमेर समूहका लागि हाउसकिपिङका लागि तालिम प्रदान गर्दै आएको जनाएको छ । नगरले बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराएको थियो ।

यसैबीच नगरले परिषद्द्वारा हालसम्म एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको जनाएको छ । हालसम्म सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिक रूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताए ।

“सीप सिकेर उद्यम गर्छु भन्नेहरूका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी घटाउन रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ”, ब्याञ्जूले भने । उनका अनुसार उद्यमशीलतासहितको सीपमूलक तालिम र सशक्तीकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ ।

युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिवी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले फरकफरक तालिम आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार आधारभूत तालिमपछि ‘एड्भान्स’ तालिमको पनि तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ४ : ४१ बजे