१ साउन । साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो ‘नम्बरी सुन’ । निर्माण युनिटले फिल्म हेर्ने १२ जनालाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरको झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले फिल्मको तर्फबाट १२ जना दर्शकलाई सुन उपहार प्रदान गर्ने योजना ल्याइएको बताए ।
‘हामीले फिल्मको’ खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्नेछौं’, निर्माता खातीले भने ‘वितरकसँगको सल्लाहमा यो योजना ल्याएका हौँ ।’ उनले उपहार लक्की– ड्र मार्फत प्रदान गरिने जानकारी दिए ।
निर्माता खाती सुन व्यवसायी पनि हुन् । पहिलो पटक फिल्म निर्माण गरेका खातीले फिल्मको कथा आफ्नो पेसासँग सम्बन्धित रहेकोले निर्माता बनेको बताए ।
कार्यक्रममा निर्देशक राजु गिरीले ६०, ७० वर्ष अगाडिको घर घरमा गएर सुनको गहना बनाउने कथा फिल्मले उठाएको बताए । उनले फिल्ममा सुनको अलवा मायाप्रेम, सेन्टिमेन्टल, कमेडी सबै खालका विषयवस्तुले भरेको सुनाए । निर्देशक गिरीले आफ्ना अघिल्ला फिल्मभन्दा ‘नम्बरी सुन’ उत्कृष्ट भएको दाबी गरे ।
अभिनेत्री नम्रता सापकोटाले फिल्ममा आफूले ग्रामीण भेगको युवतीको भूमिका निर्वाह गरेको बताइन् । उनले फिल्ममा प्रेम प्राप्त गर्ने सङ्घर्ष आफ्नो रहेको सुनाइन् ।
गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय फिल्ममा छ ।
शिवम् अधिकारीको कथा एवम् पटकथा रहेको फिल्मको निर्माता सरोज खाती, सविन खाती, मनोज रिजाल हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन रहेको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
प्रतिक्रिया