काठमाडौँ
२ साउन । चलचित्र ‘कार्साङ’को केही दिनदेखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा चलचित्रको वर्कसप सुरु भएको हो।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।
केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको चलचित्र यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सामाजिक कथावस्तुमा निर्माण हुने यस चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै चलचित्रमार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।
सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।
यस्तै, चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।
यस चलचित्रलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन चलचित्र हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।
यस चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने चलचित्रको मुख्य सह–निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह–निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।
चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।
प्रतिक्रिया