४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस



४ साउन । काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललिपुरका जन्मदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो। काठमाडौंको टुकुचा नदीको संगमस्थलको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएकाले बालबालिका लक्षित विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार फेला परेको उक्त भाइरस ‘भ्याक्सिन डिराईभ्ड पोलियो भाइरस’ हो। ‘जेठ १३ गते संकलन गरिएको उक्त नमुनाको नतिजा २९ जेठमा नतिजा आएको हो,’ उनले भने, ‘नेपालमा २०६७ असोज १४ गते रौतहटमा पोलियोको अन्तिम केस फेला परेको थियो, हाल वातावरणीय निगरानीको क्रममा पोलियोको भाइरस भेटिएको छ।’ विश्व स्वस्थ्य संगठनले नेपालबाट पोलियो उन्मुलन भइसकेको घोषणा समेत गरिसकेको छ ।

उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए। उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीन वटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर-घरमा दिइनेछ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।