२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बृद्धि



चितवन
५ साउन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा  दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९÷८० मा  दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९÷८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९÷८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिएका छन् ।
गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम रु २२ करोड ९४ लाख रहेको थियो । आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।
यसैगरी आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६÷७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो । निकुञ्ज स्थापनासँगै आव २०३१÷३२ देखि पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । सो आवमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्याङ्क छ । सो आवमा रु एक लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । आव २०३२÷३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा रु दुई लाख एक हजार राजस्व सङ्कन भएको थियो ।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरिन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १ : ५६ बजे