१४ माघ २०८१, सोमबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोलखा भीमेश्वरको शिलामा आयो पसिना



५ साउन । प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट सुरु भै सबैतिर झन्डै १०–१२ मिनेट पसिना आएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताए ।

शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजा समेत गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने स्थानीय ज्येष्ठ नागरिकहरुको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आइसकेको स्थानीयको भनाई छ ।
पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीय ज्येष्ठ सदस्यहरुले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  २ : ०२ बजे