२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान शुरु



९ साउन । काठमाडौं उपत्यकामा आजदेखि पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान सुरु हुँदैछ। साउन १२ गतेसम्म चल्ने उक्त अभियान अन्तर्गत उपत्यकाका तीन वटै जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।

गत जेठ २३ गते दोभानबाट सङ्कलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो। विश्व स्वास्थ्य सङ्गठनको हङकङस्थित ल्याबमा परीक्षण गर्दा उत्परिवर्तन भएको भाइरस देखिएको हो।

नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य सङ्गठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो।

बढी जोखिममा हुने भएकाले पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरेको हो।

राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

पाँच वर्षमाथिका बालबालिका अति जोखिममा हुने भएकाले खोपबाट कोही छुट्न नहुनेमा उनले जोड दिए। यो उमेर समूहका कुनै पनि बालबालिकालाई खोेप दिन नछुटून् भनेर यसपालि स्वास्थ्यकर्मी घरमै पुगेर खोप दिनेछन्।

घर नभएका बालबालिकाका लागि नजिकैका मन्टेश्वरी स्कुलमा पुगेरै खोेप दिने तयारी भएको खोप शाखाले जनाएको छ। यी दुवै ठाउँबाट खोेप लिन छुटेका बालबालिकाबारे खबर गरिदिन डा. गौतमले अपिल गरे।

चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ५३ बजे