२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कृषिमा लोभलाग्दो प्रगति गर्दैछन् दीपक, वार्षिक १५ लाख आम्दानी



भोजपुर
९ साउन । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् ।
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लागेका उनले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताए । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउछन् ।

उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् । व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताए । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन् ।

राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दुखेसो छ ।

आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनले बताए । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए । यसलाई विस्तार गर्ने उनको लक्ष्य छ । हाल उनले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताए ।

उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले बताए । खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन् । व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिएका छन् । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उनले भने ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ०८ बजे