१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक गडेधारा टोलका करिब ३० घर डुबानमा, ३० लाखभन्दा बढी क्षति



१५ साउन । सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । स्थानीय अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन् ।

स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताइन् । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ । स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए ।
खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको स्थानीयको आरोप छ । खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने माग राखे ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताउँछन् । बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।