९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अग्नीदहन’को पोस्टर सार्वजनिक



काठमाडौं
१५ साउन । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’को पोस्टर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्र आगामी मंसिर ७ गतेदेखि प्रर्दशन हुँदैछ ।

कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध चलचित्र निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने ।
नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती रहेकाले यो प्रथा हाम्रो शरीरमा रहेको पिलो रहेको उनको भनाई छ ।
चलचित्रका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई चिलचित्रमा उठान गरिएको बताए । ‘चलचित्रमा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट चलचित्रमा उतारेका छौं । चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।

निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी चलचित्र निमार्ण भएको बताउँदै उनले आगामी मंसिर ७ गते हलमा आएर ‘अग्नीदहन’ हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन चलचित्र निर्माण गरिएको उनको भनाइ छ ।

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले चलचित्रलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार चलचित्र अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । चलचित्रका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए ।

वरिष्ठ कलाकार, निर्देशक तथा यस चलचित्रका वितरक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । उनले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’ उनले भने ।

चलत्रि मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : १३ बजे