११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोल घर भएका प्राध्यापक बिष्टको हत्या आरोपी १७ वर्षपछि पक्राउ



१६ साउन । ललितपुरको इमाडोल घर भएका नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न आरोपी रञ्जन खड्का पक्राउ परेका छन् । प्राध्यापक विष्टको हत्या आरोपमा फरार रहेका खड्का १७ वर्षपछि पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्या आरोप लागेका खड्कालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । २०६४ सालमा खड्काको समूहले प्राध्यापक विष्टको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्राध्यापक विष्टले कलेजमै अध्ययनरत विद्यार्थी सोभिता थापा नाम गरेकी एक युवतीलाई जिस्काएको आरोपमा उनको हत्या भएको प्रहरीले बताएको छ । थापाले आफू विवाहित भएको जानकारी गराउदा पनि प्राध्यापक विष्टले एकोहोरो जिस्काउने गरेपछि उनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको थियो ।

आफूलाई प्राध्यापक विष्टले जिस्काउने गरेको कुरा थापाले आफ्ना भाइ बिनोद थापालाई भनेकी थिइन् । आफ्नो दिदिलाई जिस्काएको र दुख दिएको कुरा सुनेपछि थापाले आफ्ना साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई बोलाएर हत्याको योजना बनाएका थिए ।

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । शरीरभरी चोट लागेको अवस्थामा प्राध्यापक विष्टको शव ललितपुर महानगरपालिका-२२ शंखमुलमा भेटिएको थियो ।

हत्यापछि फरार रहेका बिनोद थापा ३ पुस २०७१ मा लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि प्राध्यापक विष्टको हत्यामा समेत संलग्न रहेको खुलेको थियो । हत्यामा संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल परेका थिए । उनी ३ असोज २०७९ मा रिहा भइसकेका छन् ।

हत्या आरोप लागेका अर्का प्रतिवादी राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेका थिए । भक्तपुर लोकन्थली घर भएका पाण्डे १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।

प्राध्यापक विष्टको हत्या आरोपमा सोभिता थापा भने जेलमै छिन् । धादिङको गंगा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया थापा १६ वर्षपछि पक्राउ परेकी थिइन् । उनलाई ६ चैत २०८० मा आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

प्राध्यापक विष्टको हत्या आरोपमा १७ वर्षपछि पक्राउ परेका खड्का भने भारतको विभिन्न ठाउँमा रही उतै काम गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ४० बजे