१७ साउन । राजधानीमा बिहीबार चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सुन्धारास्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
चलचित्रको ट्रेलरले भोलाराज सापकोटा भिलेनको भूमिकामा रहेको छनक दिन्छ । चलचित्र कलाकार कुल बहादुर अधिकारी (वावु) र अभिनेत्री मलिका महत ‘सतिदेवि’को वरपर घुमेको छ ।
छोरा नपाउदा एउटा परिवारभित्र हुने अन्र्तद्वन्द्वलाई चलचित्रले उठाएको छ । पत्रकार समेत रहेका निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बर्षैअघिदेखि नेपाली समाजको समस्यालाई चलचित्रमा उतारेका छन् । पुरानो जस्तो लाग्ने यो विषयबस्तुमा धेरै टेलिचलचित्र र चलचित्र बनेको भए पनि चलचित्रको ट्रेलरले गहन ढंगबाट उठाएको बुझ्न सकिन्छ । चलचित्रले छोरीहरु मात्रै जन्म भएको परिवारमा छोराको अभावले प्रताडना मात्रै देखाइएको छैन । वाल मनोविज्ञानमा परेको गम्भिर असर समेत चलचित्रले उजागर गरेको छ । चलचित्रको ट्रेलर हेर्दा धेरै ठाँउमा भावुक बनाउने दृश्य छन् ।
यही भदौको ७ गतेबाट प्रर्दशन सुरु हुने चलचित्रमा अभिनेत्री हर्षिका वली, मन्जिला बनियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेको चलचित्रमा लेखन तथा निर्देशन लक्ष्मण सुवेदीको छ । तारा थापाको सम्पादन, बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, दीपक शर्मा र सुभाष भुसालको संगीत रहेको यो फिल्मले सामाजिक कथालाई उठान गरेको छ ।
निर्देशक लक्ष्मण सुवेदी ट्रेलर सार्वजनिकपछि बोल्दै चलचित्रका लागि विषयबस्तु अनुसारका कलाकारहरुले अभिनय गरेको तर्क गरे । उनले चलचित्र ज्यादै संवेदनशील विषयमा निर्माण गरिएको बताउदै छायाँकनको क्रममा पटक पटक निर्माण टिम भावुक बनेको स्मरण गरे ।
अभिनेत्री मलिका महतले चलचित्रको ट्रेलर हेर्दा आफूले छायाँकनका दिनहरु याद गरेको बताइन् । उनले आफूले सो चरित्रलाई सम्झना गर्दै ती सतिदेवि आजकल के गर्दै होलिन् भन्ने भावानुभूति अनुभव गरेको बताइन् ।
चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले चलचित्र उत्कृष्ट बनेको ट्रेलर हेरेर अनुभव गरेको बताए । भने, ‘पक्कै चलचित्र दर्शकले बन पराउछन् ।’
प्रतिक्रिया