३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बंगलादेशकी प्रधानमन्त्री देश छोडेर भागिन, सेनाले अन्तरिम सरकार बनाउने



एजेन्सी । आरक्षण विवादले लिएर चर्किएको आन्दोलन निकै हिंसात्मक बनेसँगै बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेर भागेकी छन् ।

देश छोडेर विदेश पलायन भएको खबरपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।
बीबीसीका अनुसार सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । हिजोमात्रै भएको प्रदर्शनमा ९० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन् ।

हसिनासँग निकट स्रोतले एएफपीलाई जानकारी दिँदै भनेका छन्, ‘उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन ।’

रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ । टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ।

केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको पनि देखिन्छ।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।

सेनाले अन्तरिम सरकार बनाउने

बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख वाकर युज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका हुन् ।

 

 

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ४० बजे