४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप



२३ साउन । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो ।

यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ । नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति थियो । उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए । यसैगरी नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता रु. दुई सय पनि उपलब्ध गराउने छ ।

नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीहरुलाई आवश्यकता पर्दा यी दुई निकायहरुबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरे । प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे । निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।