२७ साउन । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ ।
काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
प्रतिक्रिया