४ साउन । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हीरा समाजले आयोजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रामा देशभरबाट भेला भएका समुदायका व्यक्तिहरूले कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडिबाट गौरव यात्रा शुरू गरेका थिए।
गौरव यात्रामा सहभागी भएका महिला तथा बालबालिकामन्त्री नवलकिशोर सुडीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले लैंगिक अल्पसंख्यक समुदायको सम्पूर्णको अधिकारको लडाइँमा सरकारको समर्थन गरेको विश्वास दिलाए।
त्यस्तै नील हिरा समाज अध्यक्ष पिंकी गुरुङले आफ्नो समुदायको व्यक्तिहरू दिवङ्गत हुँदासम्म उनीहरूको परिवारहरूले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवंगत हुँदा श्रद्धासुमन स्वरूप घरबाट गाईजात्रा निकाले जस्तै आफ्नो समुदायको दिवंगतहरूको श्रद्धा सुमनको लागि गाईजात्रा मनाउन शुरू गरेको जानकारी दिइन् ।
गौरव यात्रा वसन्तपुर डबलीमा दिवंगत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ। गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरू उपस्थित भएका थिए।
प्रतिक्रिया