काठमाडौं
५ भदौं । चलचित्र ‘नरसिंहाः अवतार’ प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् ।
एक्सन तथा सोसल ड्रामामा बन्ने चलचित्र ‘नरसिंहाः अवतार’मा निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो ।
निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि चलचित्रको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जानकारी दिएका छन् ।
यस अघि यो चलचित्रमा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो चलपिचत्रमा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने बिषयमा पनि केही खुलाइएको छैनन् ।
यही चलचित्रबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली चलचित्रवृत तताएको छ । यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो चलसचत्र प्रतिक्षित बन्ने निश्चित छ ।
यता, क्याप्टेनपछि निर्देशक भट्टराईको चलचित्रमा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै चलचित्रमा देखिन लागेका हुन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त चलचित्रपछि यी दुईले सँगै काम गरेका छैनन् ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौको अन्तिम साता बाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो चलचित्रको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।
प्रतिक्रिया