ललितखबर
१६ भदौं । नेपाली रजतपटमा धेरैपछि प्रेमकथामा आधारित चलचित्र प्रर्दशनमा आएकोछ । दैलेखी खड्काकाजी र धनकुटे थापाकाजीका सन्तानको प्रेमकथामा आधारित चलचित्र बर एण्ड बधु शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको हो । लामो समयसम्म नेपालीहरुको गाँउले जीवन र सामाजिक कथाका चलचित्र हेर्ने बानी परेका दर्शकका लागि निर्देशक मिलन चाम्सले प्रेम कथामा आधारित चलचित्र निर्देशन गरेका हुन् ।
इटली बस्ने बनिसविक्रम खड्का (विवेक कर्माचार्य) र फ्रान्स बस्ने टिकानारायणी राज्यलक्ष्मी थापा(आन्चल शर्मा)बीच युरोपको अर्को देश रोमानियामा अंकुराएको प्रेम र विछोड अनि विवाहको कथा चलचित्रमा हेर्न पाइन्छ ।
सवल पक्ष
चलचित्रको मध्यान्तरअघिसम्म युरोपमा फ्रान्स, इटली र रोमानियामा छायाँङ्कन गरिएको सुन्दर दृश्यहरु छन् । समूद्र, पहाड र सुन्दर अनि सफा सहरमा खिचिएको यहाँका दृश्यहरु लोभलाग्दा छन् । सुन्दर कष्टुममा सझिएकी आँचल र विवेकको मायाँप्रेम रोमान्टिक जोडीले दर्शकको मन तान्न सफल छ ।
चलचित्रमा आँचलले नृत्य, प्रेमभाव र हाउभाउमार्फत एउटी आधुनिक युवती झैं ठ्याक्कै दुरुस्तै अभिनय गरेकी छिन् ।
निर्माताले चलचित्रमा खुलेर खर्च गरेका छन् । फ्रान्स,इटली र रोमानियाका महँगा शहर र समुद्रमा चलचित्रको छायाँकन गरिएको छ । महँगा सेटदेखि कस्टुमहरुमा पनि उत्तिकै खर्च गरिएको छ ।
दुर्बल पक्ष
अग्ली हँसीली अभिनेत्री आँचल शर्माको अगाडि अभिनेताको भूमिकामा रहेका विवेक कर्माचार्य फिक्का लाग्छन् । डेव्यु चलचित्र भएकाले हुनसक्छ, उनी ठाँउ ठाँउमा नर्भस झैं देखिन्छन् । जति आँचल चलचित्रमा खुलेकी छिन्, विवेकको प्रस्तुती त्यती खुलेको लाग्दैन । होचा कदका अभिनेता विवेक आँचलको जोडी पनि मिलेको छैन । उनीहरु पर्दामा दिदीभाई जस्तै देखिन्छन् ।
चलचित्रमा किरण केसी, हिमेश पन्त,सित न्यौपाने, दिनेश काफ्लेजस्ता हास्यकलाकारको भीड नै छ । तर चलचित्रमा हास्य कलाकारले हँसाउँदैनन् । आफूले काउकुती लगाए मात्रै हो । उनहरुको हसाउने प्रयास निरर्थक छ । उनीहरुलाई चलचित्रमा सुसारे र जोकरको रुपमा देखाइएको छ
चलचित्रको पछिल्ला गीतले अनावश्यक लाग्छ । गीत बजिरहँदा हलमा बोर लाग्छ । धेरै गीत राखिएकोले पनि हुनसक्छ । गीतका कारण कथा भन्ने शैलीलाई समेत अवरोध गरेको अनुभव हुन्छ ।
चलचित्रमा कथाको श्रृखला धेरै ठाँउमा बरालिएको छ । किरण केसी (गजुरेल चाण्डक्य)लाई पछ्याएका गुगल दादा ऋण उठाउन किन आए ?अनि कहाँ गए?? पत्तै हुँदैन । किरण केसीलाई ब्राम्हण र ज्योतिषको भूमिकामा देखिएका उनलाई निर्देशक मिलन चाम्सले कान्छुसँगको सम्बन्धलाई परिभाषित गर्न बिर्सेका छन् । चलचित्रको पर्दामा झुल्किएका उनीहरुको सम्बन्ध भूमिका र औचित्य पुष्टि गर्न निर्देशक चाक्सले चासो देखाएका छैनन् । जसका कारण अन्योल मात्रै श्रृजना भएको छ ।
चलचित्रमा रंगसंयोजन, प्राकृतिक ध्वनि, प्रकाश, क्यामेरा एंगल, पार्शसंगीतको प्रयोग गरेर दृश्यभाषा श्रृजना गर्न निर्देशक चाम्सले ज्यादा मेहनत गरेको देखिन्न । चलचित्रमा कथा भन्न कलाकारले चर्को संवाद बोलेको सुनिन्छ ।
मध्यान्तरअघि चलचित्रका रमणिय दृश्य,रोमान्टिक मुड,थापा र खड्का परिवारको अन्तरद्वन्द्वको रोचक क्षणले दर्शक सम्हालिए पनि मध्यान्तरपछि कथाले बाटो विराएको छ । राजनीतिक घटनाक्रमले् मौलाएको दुई परिवारको दुस्मनी चलचित्रको अन्तमा नाटकीय रुपमा परिवर्तन भएको दृश्य दर्शकलाई पत्याउन गाह्रो लाग्छ । चलचित्रको अन्त्य पनि दमदार छैन । चलचित्रको कथाकारले अन्त्य तार्किक निश्कर्षमा नपु¥याएको दर्शकले अनुभव गर्न सक्छन् । चलचित्रको अन्तिम दृश्यहरुमा अनावश्यक कथा बुनेंको झैं लाग्छ । सानो कारणले प्रेममा आएको बाधा सानोतिनो कुरामै मिल्छ । हेर्ने दर्शकलाई चलचित्रको अन्त्य मज्जा आउदैन ।
चलचित्रमा बनिस र टिकानारायणीबीचको झगडापछि पाल्पाली राणाकी छोरी प्रिती राज्यलक्ष्मी र मकवानुपुरे सेन राजा युद्धविक्रम सेनसँगको विवाहको मगनी र त्यसपछिको द्वन्द्वको दृश्यले दर्शक अलमल्याउने निर्देशक चाम्सले कोशिस गरेका छन् । जुन सस्पेन्स थ्रिलर महसुस हुन्न ।
भएभरको चलचित्रको कथा टे«लरमै देखाइएकाले पनि हुन्छ चलचित्र हेर्दा रोचक कुरा भेटिन्न । चलचित्रको सबै रहस्य बुझेपछि पर्दामा हेर्ने रमाइला कुरा सिमित छन् ।
किरण केसी (गजुरेल चाण्डक्य)
हास्य कलाकारको परिचय बनाएका किरण केसी (गजुरेल चाण्डक्य)लाई चलचित्रमा स्त्रीलम्पट ब्राम्हणको रुपमा प्रस्तुत गरिएको छ । उनी चलचित्रमा ब्राम्हणको कर्म गर्न छोडेर कान्छुृ (कुसुम शर्मा)सँग अंगालो बाधिएको देखाइएको छ । सुनै सुनले सझिएका ब्राम्हण पैसा र सम्पत्तीको आशक्ति देखाइएको छ । चलचित्रमा किरण केसीले हँसाउने निरर्थक प्रयास गरेका छन् । उनको नयाँ चरित्रले चलचित्रलाई हलुँगो बनाएको छ । केरण केसीले चरित्र निर्माणका लागि मेहनत नगरेको भान हुन्छ । उनको अभिनयशैली पनि पुरानै छ ।
आचल शर्मा(टिकानारायणी)
आधुनिक युवतीको भूमिकामा रहेकी आँचल शर्माले चलचित्रको घमण्डी पात्रको चरित्रलाई न्याय दिएकी छिन् । उनको बोल्ड अवतारका कारण एउटा नेपाली कलाकारले यसरी खुलेर पनि अभिनय गर्न सक्छ भन्ने देखाएकी छिन् । उनको संवादशैली र अभिनय पनि राम्रो छ ।
विवेक कर्माचार्य (बनिस)
डेव्यु अभिनेता कर्माचार्यको आँचलसँग जोडी मिलेको छैन । उनको संवाद बोल्ने शैलीमा पनि समस्या छ । नृत्य र द्वन्द्वको दृश्यमा उनले थप तयारी गरेको भए राम्रो हुन्थ्यो । उनी ठाँउ ठाँउमा नर्भस देखिन्छन् ।
चलचित्रमा हास्य कलाकार सरिता न्यौपानेले हसाउने कोसिस समेत गरेको देखिन्न । दिनेश काफ्लेको फरक चरित्र हेर्नलायक छ । हिमेश पन्तको संवादशैली उत्कृष्ट भए पनि हसाउन नसक्दा हलुवामा वालुवा झैं छ । नवअभिनेत्री गरिमा शर्माको भागमा निर्देशकले धेरै संवाद नराखेको कारण उभिन मात्रै चलचित्रको पर्दामा देखिएको जस्तो लाग्छ । कलाकार विजय लामाले उस्तै शैलीको अभिनय चलचित्रमा निरन्तरता दिएका छन् । कुशुम शर्माको नयाँ चरित्र हेर्नलायक भए पनि निर्देशकले उनी चलचित्रमा हुनुको औचित्य पुष्टि गरेका छैनन ।
प्राविधिक पक्ष
दिपक राईको भेषभुसा छनौट तारिफयोग्य छ । हिमाल केसीको एक्सन औसत लाग्छ भने सिनेमेट्रोग्राफर रविन्द्र र अनिसले क्यामेरा एंगलमा मेहनत गरेका छन् । राजेन्द्र मेक्तानले चलचित्रको रंग संयोजनमार्फत सुन्दर देखाएका छन् । चलचित्रको पार्श संगीतले रोमान्टिक प्रेमकथाको लय समात्न सहयोग गरेको छ ।
अन्तमा,
चलचित्रमा विषयबस्तु,प्रविधि र प्रस्तुती अब्बल बनाएर चलचित्र निर्देशन गर्न जानेका निर्देशक मिलन चाम्सले नेपाली चलचित्र क्षेत्रका लागि अर्को औसत चलचित्र दिएका छन् । चलचित्र निर्माण र प्रर्दशनको क्रममा सम्झौता नगर्ने निर्देशक चाम्सले कथा, पटककथा र स्टारकास्टमा मेहनत गर्न बाँकी राखेर चलचित्र बनाएका छन् । चलचित्रका पात्रको चरित्र निर्माणमा थप मेहनत जरुरी थियो । कथालाई सिधा सिधा बग्न दिनु पर्नेथियो । कथा भन्ने शैली थप सुन्दर बनाउन दृश्यभाषालाई सुन्दर बनाउन सक्ने ठाँउ थियो । चलचित्रमा गीतै गीतको भीड भए पनि उत्कृष्ट संगीतको अभाव छ ।
यद्यपी निर्देशक चाम्सले नेपालीहरुको अन्र्तराष्ट्रिय कथा चलचित्रको पर्दामा ल्याएका छन् । विदेशमा छायाँकन गरिएको एउटा उत्कृष्ट दृश्यहरुले भरिएको चलचित्र प्रर्दशन भएको छ । उनीबाट नेपाली चलचित्र क्षेत्रले थप उत्कृष्ट चलचित्र पाउने आशा भने जीवितै छ ।
प्रतिक्रिया