९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णमा पितृप्रति श्रद्धा प्रकट गर्न भक्तजनको भीड



काठमाडौँ
१७ भदौ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।
गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानदेखि सुन्दरीजल–जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर महादेव मन्दिर प्रवेश गर्ने सुन्दरीजलतर्फको नाकामा चौतारा माइती नेपाल चोक, जोरपाटी प्रवेश गर्ने नाकामा नेपाल मेडिकल कलेज चोक, माकालबारी प्रवेश गर्ने बागमतीको सानोपुल र आरुबारी प्रवेश गर्ने पानी खोल्सामा सवारी रोकिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले जानकारी दिए ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यहाँ भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए ।
गोकर्णेश्वरमा आएका भक्तजनले भने धार्मिक रूपमा महत्वपूर्ण भए पनि गोकर्णेश्वरमा व्यवस्थापन राम्रो नहुँदा दुःख पाएकोे बताउँछन् । रसुवाबाट आएका दर्शनार्थी धर्मचन्द्र पौडेल गाडीको असुविधाले यहाँ आउन दुःख पाइएको बताउछन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उनले भने ।
मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उनले गुनासो गरे । शास्त्रीय रूपमा महत्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहापाएको धेरै भक्तजन बताउँछन् ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र आफ्ना पिता दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पाल्साङ लामाले बताए ।
बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वाससमेत रहेको पनि उनले जानकारी दिए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजाआराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । यसै मान्यताका कारण आज कतिपय भक्तजन गोकर्णेश्वरपछि पशुपतिनाथको दर्शनमा जाने गर्छन् । पशुपतिनाथमा बढी भीड लाग्ने हरितालिका (तीज), बाला चतुर्दशी, शिवरात्रि, साउने सोमबारलगायत पर्वमा पनि पशुपतिनाथको दर्शन गरेर गोकर्णेश्वरको दर्शन गर्न आउने भक्तजन उल्लेख्य हुने गरेका छन् ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आजै मनाइँदैछ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ५३ बजे