३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारको तीज : काम गर्दै कमाउदै, रमाउदै



काठमाडौँ
२१ भदौ । आज हरितालिका पर्ब अर्थात् हिन्दु महिलाहरुको महान पर्व तीज । धेरै महिलाहरुले ब्रत बसेर, मन्दिरमा दर्शन गरी नाचगान गरेर मनाएका छन् ।
तर नेपाली कलाकारहरुले कार्यक्षेत्रमै व्यस्त छन् । पछिल्लो पुस्ताका चल्तीका कलाकारहरु विभिन्न चलचित्रहरुको छायाँकनमा व्यस्त छन् ।
आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । उनी १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी छिन् । सदाझँै यो वर्षको तीजमा पनि उनी फलफूल र पानी खाँदै फिल्म छायाँकनमा व्यस्त भइन् ।


आज उनी दिनभरि नै ‘के घर के डेरा’ चलचित्रको छायाँकनमा व्यस्त भएकी हुन् । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उनको अनुभव छ । तीजमा व्रत बस्नु उनको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उनले भनिन, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।”

अभिनेत्री प्रियङ्का कार्की पनि तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त भइन् । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाएकी छिन्, त्यति उनको वास्तविक जीवनमा मेल खाँदैन । तीजको दिन उनी चितवनमा ‘हिमालय रोडीज’ को छायाँकनमै व्यस्त भइन् । उनलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उनको उत्सव हो । त्यसैले उनको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन ।

गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया तिर छिन् । तीजमा दर्शक श्रोता नचाउन एक साताअघि अष्ट्रेलिया पुगेकी उनले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याइन् । स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उनको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसकेकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताइन् । “भोकै बसेर पर्व मनाउने होइन”, उनी भन्छिन्, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ । मैले यसरी मनाउँदै आएकी छु ।”

गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उनले बताइन् । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिएकी उनले एक महिनामा राम्रो आम्दानी गरेको सुनाइन् । तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिन्छिन् । उनी फलफूल खाएर व्रत बस्छिन् भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउछिन् । उनी भन्छिन्, “समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।”

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : ३६ बजे