काठमाडौँ
२५ भदौं । माओवादी द्वन्द्वकाबीच रुकुमको पहाडी जीवनमा हुर्किरहेको एक जोडीको प्रेम कथामा आधारित चलचित्र ‘खुस्मा’को ट्रेलर आज मंगलबार सार्वजनिक गरिएको छ ।
चलचित्रको सबैजसो दृश्यमा अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीबीच अंकुराएको प्रेमसँगै विभिन्न उतारचढाव समेटिएको छ ।
चलचित्रको ट्रेलरको दृश्यमा माओवादी द्वन्द्वका कारण भोग्नु परेको सास्तीको कथा रहेको छ भने टे«लरमा ३ वटा गीतको अंश हेर्न पाइन्छ ।
चलचित्रको ट्रेलरमा हिमाली सुन्दर गाँउ दुखकष्ट देखाइएको छ । ट्रेलरले चलचित्रको अधिकांश कथाको खुलासा गरेको छ ।
चलचित्रका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको चलचित्रमा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगर लगायतले पनि अभिनय गरेका छन् । मगर समुदायको परिवेशमा चलचित्र निर्माण भएको हो ।
चलचित्रको निर्माताहरुमा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् भने सह–निर्माताहरु मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्मातामा छन् ।
गोविन्द शाहीले वितरण गर्न लागेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगर स्वयंको शब्द रचना रहेको छ ।
प्रतिक्रिया